जेष्ठ २४, २०८० बुधबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

“हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएका छौँ,” उहाँले सन्देशमा भन्नुभएको छ, “फलस्वरुप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ ।”

उहाँले सयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जानकारीसमेत गराउनुभएको छ । लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्दै उहाँले लुम्बिनीमा पाँच हजार ध्यानीहरुले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल आफूहरुले निर्माण गरेको दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हुनुका साथै बुद्ध दर्शनको उद्गमस्थल रहेको जनाउनुभएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com