चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पर्वतका सबै मतदान केन्द्र र मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिएका छन् । कतिपय स्थानमा यातायातका साधन र पैदलमा कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका हुन् ।

जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायतका आवइयक सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेका हुन् ।

जिल्लामा १४७ मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ सहयोगी कर्मचारी गरी एक हजार १०० भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिनुभयो । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुश्मामा तालिम दिइएको थियो ।

मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् । जिल्लाभर झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सात स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा एक लाख २२ हजार ५० मतदाता छन् । ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com