चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारीको गरिएको छ । जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

“मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा छन्”, मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भन्नुभयो, “सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन लागिपरेका छन्, यी सबै कार्य आज साँझसम्म सम्पन्न भइसक्ने छन् ।”

जिल्लाका सबै मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सोअनुरुप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “आम मतदाताले भयरहित भई मतदान गर्न सकुन् भन्ने ध्येयलाई प्राथमिकतामा राखिएको र सोअनुसार व्यवस्था गरिएको छ”, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्नुभयो, “आम मतदातालाई निर्धक्क भएर मतदान गर्न हाम्रो आग्रह छ ।”

दक्षिणतर्फ भारतसँगको ३८ किलोमिटर सीमा जोडिएका छ स्थानीय तहका मतदानस्थलको सुरक्षा व्यवस्थामा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । यस्ता ठाउँको सुरक्षा व्यवस्था विशेष चासोसाथ गरिएको जिल्ला प्रशासनले जनाएको छ । “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्, सबैतिर अनुगमनको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “यद्यपि मुख्य पक्ष आम मतदाता, दलहरू र उम्मेदवारमा सकारात्मक चासो हुनपर्छ ।”

मङ्लबार मध्यरातदेखि नै मौन अवधि सुरु भएको छ । यसै अवधिमा मतदानमा प्रभाव पार्न भोजभतेर, एकअर्को पक्षबीच भनाभन, दल र उम्मेदवारका कार्यकर्ता समूहमा निस्कनेजस्ता कार्यले निर्वाचन सुरक्षा र निष्पक्षतामा असर पार्ने हुँदा यस्तो कार्य नगर्न लगातार सचेत गराइएको निर्वाचन कार्यालले जनाएको छ ।

आचारसंहिता सबै पक्षबाट परिपालना गराउन अनुगमन भइरहेकाले अवाञ्छित गतिविधि भए तत्काल कारबाही गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनका लागि यसपालि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com