चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मङ्गलबार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिनुभयो ।

बुधबार र बिहीबार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । एक सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । तीन सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अफिम नष्ट

म्याग्दीको मालिका गाउँपालिका–४ र ५ मा १० रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिमका बोट नष्ट गरिएको छ । मालिका गाउँपालिका–४ सिस्नेरी खवाङ र वडा नं ५ को गाईखर्कमा प्रहरीले लागुऔषध अफिमका बोट नष्ट गरेको छ । दुई ठाउँमा पाँच–पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएका म्यादी प्रहरीसहितको टोलीले अफिम नष्ट गरेको हो । स्थानीय तह चुनावको सुरक्षा गस्तीमा गएका प्रहरी टोलीले अफिमखेती भएको भेटेपछि नष्ट गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com