चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि दाङमा छ हजार कर्मचारी तथा सुरक्षाकर्मी खटाउने तयारी भएको छ । वैशाख ३० गतेका लागि मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट, अभिमुखीकरण, निर्वाचन प्रयोजनका सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजारभन्दा बढी जनशक्ति परिचालन गरिने भएको हो । तीन हजार ६८८ कर्मचारी र तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी गरी छ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइने जनाइएको छ ।

निर्वाचन कार्यालयका अनुसार दाङमा ४६१ मतदान केन्द्र छन् । हरेक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटिनेछन् । एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, दुई सहयोगी र तीन स्वयंसेवक परिचालन हुने प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार थप सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ ।

यसैगरी नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राख्ने बताइएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई गस्ती, सम्भावित अपराधका घटनाको विश्लेषण र नियन्त्रणका लागि टोल बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाइएको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपत्र, मत पेटिकासहित निर्वाचनका अन्य आवश्यक सामग्री तयार पार्ने काम भइरहेको जनाइएको छ । निर्वाचनमा एक हजार १०० मतपेटिका आवश्यक पर्नेछ । त्यसका लागि ३०० नयाँ मतपेटिका मगाइएको छ । यसअघिको निर्वाचनमा प्रयोग भएका एक हजार ४०० मतपेटिका रहेका छन् । २७ गते साँझसम्म सम्बन्धित मतदानस्थलमा पुगेर सूचना जारी हुनेछ  । २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्ने र सोही बेला मतदाता शिक्षाको गतिविधि सञ्चालन गरिनेछ ।

त्यसैगरी सोही दिन नै मतदानका लागि केन्द्र निर्माणका काम गरिनेछ । एक सय ५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । दाङमा दुई लाख नौ हजार ९९ जना महिला, दुई लाख सात हजार ९९ जना पुरुष र दुई तेस्रोलिङ्गी गरी कूल चार लाख नौ हजार ९०२ जना मतदाता छन् । निर्वाचनका लागि चार लाख ४३ हजार मतपत्र आइसकेको जनाइएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com