चैत्र १३, २०८० मंगलबार । March 27, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

तनहुँ । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ ।

जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ । शुरुमा रु डेढ लाख लगानी गरी आठ बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन् । बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ । बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ । बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ । डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ ।

गङ्गादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ । उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ । गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताए ।

हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक बताए । उनका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर छन् । उनले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आएका छन् ।

बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उनी बताउछन् । शुद्ध १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन् ।

त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताए ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी बताउँछन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com