चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मधेस प्रदेशअन्तर्गत बाराको साबिक रतनपुरी हाल निजगढ नगरपालिका– १३, निजगढ नगरमा रहेको भक्तलाल र डम्बरपुरको विकास गर्न नेपाली काँग्रेसका पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दर्ता गरेका छन् । निवर्तमान वडाध्यक्ष सुर्य घलानसहित वडा सदस्यहरुले यसपटक पनि उम्मेद्वारी दिएका हुन् ।

वडामा अध्यक्ष घलानसहित दलित महिला सदस्य धनकुमारी विक, महिला सदस्य फुलमाया तामाङ स्याङतान, खुल्ला सदस्य दीपक न्यौपाने र सुर्यबहादुर थोकरले उम्मेद्वारी दिएका हुन् ।

अध्यक्षका उम्मेद्वार घलानले आफूहरु निर्वाचित हुनुभन्दा अगाडि वडामा वडा कार्यालय नभएको र आफूहरु आएपछि वडाको कार्यालय स्थापना गरिएको बताए । ‘पहिला यहाँ वडा कार्यालय नहुँदा निकै टाढा पुगेर वडाको काम गर्नुपथ्र्यो । यहाँका विभिन्न स्थानमा बाँदर लड्ने भीर थिए । जहाँ सडकको सुविधा पुगेको थिएन । कैयौं नेताहरुलाई जिताएर पठाए पनि कसैले केही गर्न नसकेपछि यहाँका मतदाताले मलाई विश्वास गरी जिताउनुभयो’, अध्यक्ष उम्मेद्वार घलानले भने । उनीहरुको विश्वासलाई आफूले कहिल्यै पनि घात नगरेको उनले दाबी गरे ।

उनले यहाँको पर्यटकीय क्षेत्रमा प्रत्येक शनिबार ९० प्रतिशत पर्यटक आउने गरेको बताए । उनका अनुसार यो स्थानमा एक वर्षमा झण्डै दुई लाख पर्यटक घुम्ने गरेका छन् । ‘नदी नियन्त्रण, बाटो, खानेपानी, कल्भर्टलाई प्राथमिकतामा राखेर काम गरेका छौं । गुणस्तरीय शिक्षाका लागि पनि हामीले धेरै पहल गरेर वडामा दुई आधारभूत विद्यालय स्थापना गरेका छौं’, घलानले भने ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com