माघ १६, २०७९ सोमबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रामपुर ।
कालीपारे दाइ कति राम्रो
ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी)

पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उनी तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्छिन् । छ वर्षदेखि नै सो काममा संलग्न उनले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आएकी छन् ।

‘श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ’, उनले भनिन् । छोराछोरी पढ्न गएपछि घरायसी काम सकाएर ढाका बुन्ने उनले साथीहरूसँगै काम गर्दा दिन बितेको पत्तो नै नहुने अनुभव सुनाइन् । फुर्सदका समय बिहान ७ बजेदेखि साँझसम्म पनि उनी निरन्तर ढाका बुन्छिन् । उनी भन्छिन्, ‘काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छ, दिउँसो चार÷पाँच घण्टाको समय काम गरियो भने महिनामा १२÷१५ हजार रुपियाँ त सजिलै कमाउन सकिने रहेछ, महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो छ ।’

साँझ बिहानको घरायसी काममा मात्रै सीमित रहने र दुई÷चार पैसाका लागि अरूका भरमा बसेका महिलालाई सीप सिकेर आफैँ स्वरोजगार बन्न उनी सुझाव दिन्छिन् । आफ्नो हातमा कमाइ भएपछि अरूको अपहेलना खेप्नु नपरेको र आफूलाई आत्मनिर्भर बन्ने बाटो मिलेको नेपाली बताउछिन् ।

रिब्दिकोट गाउँपालिका–८ फेक बस्ने सीमा बगालेलाई आजभन्दा पन्ध्र वर्षअघि पढेलेखेको छैन, जागिर पाउने आसै भएन, आयआर्जन कसरी गर्ने भन्ने समस्याले निकै पिरोल्थ्यो । रोजगारीका खोजीमा तानसेन बजारमा आएकी बगाले यहाँको कारखानामा ढाका बुन्ने अवसर पाएपछि भने अहिले स्वावलम्बी बन्दै गएकी छन् ।

तानमा बसेर ढाका बुन्न थालेको डेढ दशक भयो । काम गर्ने क्रममा सीप विकास हुँदै गर्दा अहिले उनलाई आफ्नो खर्चका निम्ति अरूका भरमा बस्नुपर्ने अवस्था छैन । ‘पढ्न नसक्दा जागिर पाउने आसै थिएन, कारखानामा काम पाउँदा धेरै खुसी लागेको छ, ढाका बुनेर आफ्नो खर्च चलेकै छ, काम नपाएर खाली बस्नु पनि परेन, अरूसँग दुईचार पैसाका निम्ति हात थाप्नु परेको छैन’, बगालेले भने ।

मिटरको हिसाबले ज्याला पाउने हुँदा यसैमा मात्रै ध्यान दिएर काम गर्नेले राम्रो कमाइ गरिरहेको व्यवसायमा संलग्न महिला बताउँछन् । पाल्पाली ढाका बुनाइ नेपाली र बगाले जस्तै यहाँका धेरै महिलाको आयआर्जन गर्ने बलियो माध्यम बनेको छ । श्रीमान्का भरमा मात्र बस्दा जीविका चलाउन धौधौ भएपछि धेरै महिलाले व्यावसायिक रूपमा तानमा बसेर ढाका बुनी दैनिक जीविकोपार्जन गरिरहेका छन् । ढाका उद्योग महिलाका निम्ति रोजगारको बलियो स्रोतका रूपमा स्थापित बनेको छ ।

ढाका उद्योगबाट धेरैलाई रोजगारी दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी बताउछन् । उनको उद्योगमा अहिले दैनिक बिहानदेखि साँझसम्म ३० कामदार ढाका बुन्ने कार्यमा संलग्न छन् । यहाँ छोराछोरीलाई स्कुल, क्याम्पस पठाएर फुर्सदको समय ढाका बुनेर आफ्नो जीविका चलाउने गरेको पाइन्छ । ‘एउटा उद्योगबाट दैनिक ३० जनाले रोजगार पाएका छन्, धेरैजसो छोराछोरी पढाउन कोठा भाडामा बस्ने महिलाहरू हुनुहुन्छ, स्कुल पठाएपछि यहाँ आएर तानमा बसी ढाका बुन्ने गर्नुहुन्छ, यो देख्दा पनि आनन्द लाग्छ’, उनले भने ।

तानसेन बजारमा फेन्सी पसल चलाएका रायमाझीले विसं २०४८ देखि ढाका कपडाको व्यापार सुरु गरेका हुन् । विस्तारै उद्योगका रूपमा विकास गर्दै गएपछि अहिले उहाँ धेरैलाई यसैबाट रोजगार दिने एक सफल उद्योगीका रुपमा स्थापित भएका छन् । द्वन्द्वकाल र कोभिड –१९ को प्रभावले व्यवसायलाई असर पु¥याए पनि ढाका सम्मानजनक व्यापार भएकाले उद्योगीलाई राम्रो पहिचान दिएको उनको अनुभव छ । उनी एक वर्षमा सरदरमा रु २० देखि २५ लाखसम्मको ढाका कपडाको कारोबार गर्छन् । ब्राण्डमा गएपछि ठगिने क्रम हटेको र उद्योग थप हुँदै गएकाले ढाका कपडाको व्यापार फस्टाउँदै जाने आशा उनी व्यक्त गर्छन् ।

पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जन आफूले चलाएको कारखानामा हाल १६ महिलालाई दैनिक रोजगारी दिएको बताउछिन् । पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँंगै काम गर्छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com