चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदै छ ।

‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

नेकपा एसले पनि गत बुधबारको बैठकवाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले न्युज कारखानासँग भने, ‘कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौं ।’

उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com