चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदैछिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।

सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, ‘एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।’ एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com