एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सीजीन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा द्विपक्षीय सहकार्य र समन्वयका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्दै पूर्वाधार र मानव विकासमा लगानी केन्द्रित गरेर सहयोग उपलब्ध गराई राख्ने चेनले प्रतिबद्धता जनाएको एडीबीको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
संघीयता कार्यान्वयन, प्रशासनिक सुधार तथा सार्वजनिक सेवाका सुधारका लाागि आगामी दिनमा एडीबीले थप सहयोगको प्रतिवद्धता जनाएको उल्लेख छ । एडीबी उपाध्यक्ष चेनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि प्रधानमन्त्रीसँग कुरा गरेको जनाइएको छ ।
‘नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने नेट–जीरो सम्बन्धी लक्ष्य प्राप्त गर्नका लागि चालेका कदमहरुमा एडीबीले सहकार्य गर्नेछ,’ प्रधानमन्त्रीसँगको भेटमा चेनले भने, ‘त्यसका लागि हरित र दिगो विकास कार्यक्रमका लागि समन्वय कायम रहनेछ ।’
चेनले अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेका छन् । शर्मासँगको भेटका क्रममा एडीबीअन्तर्गतका विकास कार्यक्रमहरु र ती कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको जनाइएको छ । चेनले साना तथा मध्यम र महिलाले नेतृत्व गरेका व्यवसायहरु, प्रविधिको विकास र कृषिको प्रबर्द्धनका लागि निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटघाट गरेका छन् । अप्रिल १३ देखि नेपाल भ्रमणमा रहेका चेनले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम छ । एडीबीको सहायता रहेका वाग्मती नदी सुधार आयोजना, मेलम्ची खानेपानी परियोजना तथा ग्रामीण उद्यमशीलता कार्यक्रमलगायतको स्थलगत भ्रमणसमेत चेनले गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया